दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही र बाजुराको स्वामिकार्तिक खापर गाउपालिकाको उपाध्यक्षमा एमालेकी बुढा बिजयी

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही र बाजुराको स्वामिकार्तिक खापर गाउपालिकाको उपाध्यक्षमा एमालेकी बुढा बिजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ मंसिर २०८१
  • 5.7K
    Shares

पोखरा, १७ मंसीर २०८१।

देशका बिभिन्न ४१ स्थानमा भएको उपनिर्वाचनका परिणामहरु आउन थालेका छन्। अहिलेसम्म घोषित परिणाम अनुसार , नेपाली कांग्रेसले १३ स्थानमा बिजय हासिल गरेको छ भने एमालेले पांच, माओवादी केन्द्रका चार र जनता समाजवादी पार्टीले दुई स्थानमा बिजय हासिल गरेका छन्। एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय पार्टीका एक – एक जनाले जितेका छन्।

शनिबार सम्पन्न उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही र बाजुराको स्वामिकार्तिक खापर गाउपालिकाको उपाध्यक्षमा एमालेले जितेको छ भने काठमाण्डौ महानगरपालिकाको वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन्। कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ।

शाही तीनहजार एकसय २७ मतसहित विजयी हुँदा भण्डारीले दुईहजार छसय ७५ मत ल्याएका छन्। त्यहाँ माओवादी केन्द्रका जंगबहादुर बराल मगरले आठसय ४२ मत मात्रै प्राप्त गरेका छन्।

०७९ सालको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लछुमन गुरुङ दुईहजार नौसय ७९ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार पाँचसय १९ र एकीकृत समाजवादीका जंगबहादुर शाहीले दिईहजार दुई६८ मत पाएका थिए।

बाजुराको स्वामिकार्तिक खापर उपाध्यक्षमा एमालेको जित

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढाले जितेकी छन्। उनले १ हजार ७४० मत पाउँदा नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एकहजार चारसय ७४ मत पाइन्। दुइसय ६६ मत अन्तरले सुलोचनाले जित हात पारेकी हुन्। नेकपा एसकी जवा शाहीले ५५३ मत ल्याइन्।

यसअघि नेपाली कांग्रेसले जितेको पद यसपालि एमालेले खोसेको हो। ०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि यहाँ उपचुनाव भएको हो।

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।

रास्वपाकी श्रेष्ठले दुईहजार नौसय दुई मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले दुईहजार दुईसय २० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको नेपाली कांग्रेस भने तेस्रोमा धकेलिएको छ । कांग्रेसका देवेन्द्र पाठकले दुई हजार दुइसय १४ मत पाएर तेस्रो भए । यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए ।

यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले एकहजार ९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले सातहजार सातसय ४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले चारसय ९८ र अर्का स्वतन्त्र सम शाक्यले तीनसय ३४ मत पाएका छन् ।

यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

कालिकोटको तिलागुफा–४ मा नेमकिपाका शाही विजयी

कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही विजयी भएका छन्।

वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेकी जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए।

उक्त उपनिर्वाचनमा नेकपा (एमाले)का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत पन्तले बताए।

कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो। दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए। चार मत बदर भएको थियो।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार