पोखरा,१७ असोज २०८१।
युवती भेट्न काभ्रेको राधेराधे पुगेका कीर्तिपुरका एक मासु पसल चलाउँदै आएका व्यापारीको अपहरणपछि फिरौती लिएर हत्या भएको खुलेको छ।
युवती भेट्न काभ्रेको राधेराधे पुगेका कीर्तिपुर नगरपालिका ५ का ५० वर्षीय विनोद खड्गीको अपहरणपछि फिरौती लिएर हत्या भएको खुलेको हो ।
प्रहरीका अनुसार, खड्गी असोज ६ गते बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका ८ को ४९ किलो भन्ने ठाउँमा झाडीमा मृत भेटिएका थिए। उनी सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई भक्तपुरको मध्यपुर ठिमीमा डेरा बस्ने २१ वर्षीया मनिषा महत भेट्न राधेराधे पुगेका थिए।
मनिषालाई भेट्न गएका खड्गीलाई मनिषा र उनका साथीहरुले मनिषाको कोठाबाटै अपहरण गरेको र कुटपिट गरी फिरौती रकम लिएपछी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
प्रहरीका अनुसार, लुटपाट गर्ने उद्देश्यले विनोदलाई मनिशाले असोज ५ गते नै भक्तपुरको राधेराधेमा बोलाएकी थिइन् । मनिषा र उनका आ स्थीहरु मिलेर मनिशाकै कोठाबाट योजना बनाएका थिए । योजनाअनुसार मदिरा खुवाएर विनोदकै गाडीमा राखेर उनीहरूले भक्तपुरको गुण्डु लिएर हत्या गरेको खुलेको छ ।
हत्यापछि उनको गाडीबाट विनोदको शव फालेको खुलेको डीएसपी घलेको भनाइ छ ।
ब्यापारी खड्गीको अपहरण पछि पाँच लाख रुपियाँ फिरौती लिएर पनि कुटपिट गरेर हत्या गरेको आरोपमा २१ वर्षीया मनिषा महत, बागलुङको गलकोट नगरपालिका ७ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतिश गौतम, काठमाडौँको शंकरापुर नगरपालिका ५ का २२ वर्षीय सरिन घिमिरे र २१ वर्षीय निकेश पौडेल र महोत्तरीको गौशाला नगरपालिका ६ घर भई भक्तपुरको कौशलटार बस्ने आशिष पासवानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उक्त हत्याकाण्डमा संलग्न पांच जनालाई पक्राउ गरेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा करिव ३ महिनाअगाडि मनिषा, भारतीय भन्ने बुझिएका अन्सु र शिवम् भारतको ग्रेटर नोइडा भन्ने ठाउँमा तुषार भन्ने व्यक्तिलाई कुटपिट गरी फिरौती रकम एकलाख ५० हजार लिई नेपाल फर्किएका तथ्य फेला पारेको छ।
प्रहरीले दिएको जानकारी अनुसार , नेपाल फर्किने क्रममा नेपालमा पनि कुनै धनी व्यक्तिलाई यौनजालमा पारी रकम लुट्ने योजना बनेको थियो। सोहि योजना बमोजिम २०८१ साल असोज ४ गते साँझको ५ बजे मनिषा महतको भक्तपुरस्थित राधेराधेमा रहेको डेरामा उनीसहित अन्सु, शिवम्, सरिन र रिकेश भेला हुन्छन्। भोलिपल्ट एकजना गाडी पनि भएको पैसावाला व्यवसायी आउने र उसलाई फसाउने योजना बनाउँछन्।
शुरुमा उसलाई रक्सी खुवाउने, त्यसपछि खाना खाइसकेपछि कुटपिट गरी हातखुट्टा बाँधेर डर त्रास देखाई फिरौती रकम माग्ने योजना उनीहरूको हुन्छ।
असोज ५ गते अन्सु खानले बानेश्वरमा प्रतिक गौतमलाई भेटेर योजना बनाउँछन्। अनि, दुवैजना अन्सु खानको घरमा आउँछन्।
अन्सु खानले आशिष पासवानको फलफूल पसलमा गई योजना बताएपछि त्यहाँबाट चारजना मनिषाको डेरा जाने हिमालय गेटमा भेला हुने योजना बनाउँछन्।
असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्यो भनी फोन गरेर काठमाडौँको कीर्तिपुर नगरपालिका ५ बस्ने ५० वर्षका विनोद खड्गीलाई खाना खान बोलाउँछिन्।
बोलाएको डेढ घण्टापछि विनोद गाडीमा मनिषाको डेरामा पुग्छन्। शिवम् र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन्।
खाना तयार भएपछि हतारहतार खाएर शिवम् बाहिर जान्छन्।
विनोदले खाना खाइरहेको समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर जान्छिन् र अन्सुलाई फोन गरी भन्छिन्, ‘सबै तयार छ अबको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नू।’
हिमालय गेटमा अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष जम्मा भएका थिए। प्रतिक र शिवम स्कुटरमा मनिषाको डेरातर्फ बाटो लाग्छन्।
उनीहरूले पहिल्यै योजना बनाइसकेका हुन्छन्। मनिषाको कोठामा पुगेर ढोका खोल्ने वित्तिकै विनोदलाई कुट्ने सल्लाह हुन्छ।
उनीहरूले त्यहाँ पुगेपछि पूर्वयोजना अनुसार नै विनोदलाई लात्ती, मुड्कीले शरीरका संवेदनशील भागमा पनि प्रहार गरी सख्त घाइते बनाउँछन्।
त्यसपछि उनीहरूले सुरु गर्छन् फिरौती रकमको बार्गेनिङ। सुरुमा सबैले ३० लाख माग्ने कुरा हुन्छ। तर मनिषाले ३० लाख बढी भयो भन्दै १० लाखसम्म माग गर्छिन्।
विनोदले मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भन्छन्।
विनोदले सुरुमा आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन्। तर मोबाइल ह्याङ भएको कारणले अन्सुको फोनमा विनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गर्छन्। तत्काल ५ लाख रूपैयाँ चाहियो, भक्तपुरको राधेराधे भाटभटेनी अगाडि आर १५ मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनु भन्छन्।
साँझ ५ बजेर १० मिनेटमा पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन्। आशिष पासवान विनोदले पठाएको मानिस म नै हुँ भनेर प्रदीपसँग रकम माग्छन्। प्रदीपले विनोदलाई फोन गरेर फेरि निश्चित गर्छन् र ५ लाख रूपैयाँ दिन्छन्।
१५/२० मिनेटपछि आशिष पैसा लिएर मनिषाको कोठामा पुग्छन्। उनले अन्सुलाई पैसा दिन्छन्।
त्यसपछि मनिषा, अन्सु, शिवम्, आशिष र प्रतीक मिलेर यसले हामीलाई भोलिको दिनमा छोड्दैन यसलाई मारेर फालिदिऊँ भनी योजना बनाउँछन्।
आशिषले गाडी चलाउँछन्। अन्सु र शिवमले गाडीको बिचमा विनोदलाई राख्छन्। मनिषाले गेट खोल्छिन्। गाडीको ढोका खोलेर घर वरिपरि रेक्की पनि मनिषाले गर्छिन्।
प्रतीकले गाडीको अगाडि स्कुटरबाट एस्कोर्ट गर्दै जाने सल्लाह उनीहरूको हुन्छ। त्यही अनुसार राति १० बजे मनिषाको कोठाबाट भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित गणेश मन्दिर हुँदै गुन्डु तर्फ जान्छन्।
गुन्डु जाने बाटोमा गाडी रोकेर विनोदको छातीमा ढुङ्गाले हान्छन्। त्यहीँ उनको हत्या गरेर साँगा, धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलो पुर्याएर सडकबाट ८ मिटर तल झाडीमा विनोदको शव फालिदिन्छन्।
उनीहरू भने विनोदकै गाडी चढेर पुरानो ठिमी भित्री सडक खण्डमा पुग्छन् र गाडी पार्किङ गरी आ–आफ्नो घर तर्फ लाग्छन्।
असोज ६ गते विभिन्न स्थानमा भेटी अन्सुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोश्नी महत समेतलाई ५० हजार गरी जम्मा १ लाख ८० हजार बाँडेको खुलेको प्रहरीको दाबी छ।
उनीहरूले घटनाको सम्बन्धमा प्रहरीले थाहा पाए के भन्ने भन्ने पनि पहिल्यै योजना बनाएका थिए।
मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र सोही कारण विवाद गरेपछि सामान्य कुटपिट झै–झगडा भएपछि विनोद निस्किएर गएको तर त्यसपछि अरु कुरा केही थाहा छैन भन्ने सल्लाह गरेका थिए।
तर प्रहरीले घटना थाहापाएसँगै हत्यामा संलग्नहरूलाई पनि पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा मुद्दा अगाडि बढाएको छ।