पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्षका दम्पतीको मृत्यु, झापामा खोलाले बगाउँदा तीनजना बेपत्ता

पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्षका दम्पतीको मृत्यु, झापामा खोलाले बगाउँदा तीनजना बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ असोज २०८१
  • 4.4K
    Shares

पोखरा,१२ असोज २०८१।

अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकमा पूर्ववडाध्यक्षका दम्पत्तिको मृत्यु भएको छ।

गएराति आएको पहिरोले पुरिएर लिसंखु पाखर –३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए ।

पुरानो घरमा सुतिरहेको बेला राति १ बजे तिर आएको पहिरोले दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए । पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएका थिए ।

यता नदीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका- १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो। यसैगरी, गौरीगञ्ज गाउँपालिका- ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन्।

शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज- २ भाकुरमारी सुकुमवासी बस्ती बस्ने ५० वर्षीय केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खोलामा आएको बाढीले खोजीमा समस्या भएको छ। नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए।

त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ।

अपराह्न करिब ४ः४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो। खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार