पोखरा, ९ असोज २०८१।
कास्की याङ्जाकोटका युवा पोखरामा अबैध लागू औषधसहित पोखरामा पक्राउ परेका छन्। मादी गाँउपालिका वडा नं. ३ याङ्जाकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २९ पट्नेरी बस्ने ३१ वर्षीय मनबिर परियार अबैध लागू औषधसहित पोखरामा पक्राउ परेका हुन्।
पोखरातर्फ बसमा आउदै गरेका परियारलाई लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र अस्थायी प्रहरी पोष्ट मझुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा ३२ मझुवास्थित पृथ्वी राजमार्ग सडक खण्डबाट सोमबार बेलुका करीब पौने पांच बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
अभियुक्त परियारको साथबाट लागू औषध डाईजेपाम ५१ एम्पुल, फेनेरागन ५१ एम्पुल, नुर्फिन ५१ एम्पुल गरी जम्मा एकसय ५३ एम्पुल लागू औषध र एकथान मोवाईल समेत बरामद भएको प्रहरीले बताएको छ।
अभियुक्त परियारबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।