पोखरा,८ असोज २०८१।
पोखराबाट एकसय तीन वटा च्याङ्ग्रा चोरी गरेर भागेको भनिएका एक व्यक्ति पोखराबाटै पकराउ परेका छन्।
गएको असोज १ गते बिहान सबेरै पोखरा २५ हेम्जाबाट मुस्ताङको वारागुरङ मुक्तिक्षेत्र गाउपालिका वडा नं. ३ वारागुरुका ताक्ला गुरुङको एकसय तीन वटा च्याङ्ग्रा चोरी गरेर भागेको भनिएका रुपन्देहीको शुद्धोधन गाउपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने ५० वर्षीय मोहम्मद फकिर पोखराबाटै पक्राउ परेका हुन्।
उनलाई आफूले मोबाइल सम्पर्क गर्दै फकाएर जिल्ला प्रहरी कार्यालय कास्कीमा बोलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रबक्ता डिएसपी बसन्तराज शर्माले जानकारी दिए। रक्सीले मातेको अवस्थामा प्रहरी सम्पर्कमा आएका अभियुक्त मोहम्मद फकिरले चोरी गरिएका एकसय तीन वटा च्याङ्ग्रा मध्ये ५० वटा चितवनमा पुर्याएर बिक्री गरेको बताए पनि अन्य च्यांग्रा कता गए भन्ने बारेमा अहिलेसम्म एकीन विवरण दिन नसकेको डिएसपी शर्माले बताए।
अभियुक्त मोहम्मद फकिर समेतका तीन जनाले ताक्ला गुरुङको मुस्ताङस्थित घरगोठमा गई प्रति गोटा ३७ हजार पांचसयका दरले एकसय तीन वटा च्याङ्ग्रा खरीद गर्न सहमति जनाएको तर ती च्याङ्ग्रा पोखरा पुर्याए पछि मात्र रकम दिने प्रलोभनमा पारेका बताइएको छ। सोहि शर्त बमोजिम मुस्ताङको जोमसोमबाट च्याङ्ग्रा लिएर पोखरा आएका च्यांग्रा धनी ताक्ला गुरुङ पोखराको ड्यामसाइडस्थित होटलमा आराम गरिरहेको मौका छोपी मरेका च्याङ्ग्रा ब्यबस्थापन गर्ने बहाना बनाएर उनीहरुले पोखराबाट एकसय तीन वटा च्याङ्ग्रा चोरी गरेर भागेका प्रहरीले जानकारी दिएको छ।
आफू होतालामा बसिरहेको मौका छोपेर मोहम्मद फकिर समेतका व्यक्तिहरुले करीब ४२ लाख रुपियाँ बराबरको एकसय तीन वटा च्याङ्ग्रा चोरी गरेर भागेको भन्दै च्याङ्ग्रा धनी ताक्ला गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्। अभियुक्त मोहम्मद फकिरबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ।