मोरङमा ६० वर्षीय एक वृद्धको बिभत्स तरीकाले हत्या गरिएको छ। जिल्लाको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको बिभत्स तरीकाले हत्या गरिएको हो।
उनको शब् शनिबार बिहान ७:२० बजेतिर आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
डिएसपी दाहालका अनुसार, मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु छन्। शव नजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा पनि फेला परेको छ।
आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको विभत्स शव फेला परेपनि उनका छोरी ज्वाईं २५ वर्षीय रविन राई फरार छन्। ससुराको हत्या गरेर उनी भागेको हुनसक्ने प्रहरीको भनाइ छ। प्रहरीले रविनको खोजी तीव्र बनाएको छ।
रविन ससुराली घरमा बस्दै आएको खुलेको छ। घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएको प्रहरीको भनाइ छ। रविनको घर पनि ससुराली घर नजिकै छ। चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ।
ज्वाईं ससुरा शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ज्वाईं र ससुराले सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन्।
कानुनी प्रक्रिया पूरा गरेर घटनस्थलबाट शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।