पोखरा,१ असोज २०८१।
अबैध लागू औषध चरेस र अफिम बोकेर भारततिर जाँदै गरेकी रोल्पाकी एक महिलालाई भारतीय प्रहरीले नेपाल – भारतबिचको सिमावार्ती बजार रुपेडियाबाट पक्राउ गरेको छ।
रोल्पाको मिरुल वडा नम्बर ४ बस्ने सीताकुमारी बुढालाई भारतीय प्रहरीले सिमावार्ती बजार रुपेडिया नाकाबाट प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ गरेको हो।
रुपैडिहा थाना इञ्चार्ज शम्शेरबहादुर सिंह र एसएसबी ४२ औं बाहिनीका उप कमाण्डेन्ट रमनलालको संयुक्त टोलीले खानतलाशी गर्दा पाँच सय ग्राम चरेशसहित बुढालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको रुपैडिहा प्रहरीले जनाएको छ।
बुढाका साथबाट बरामद गरिएको चरेशको अन्तर्राष्ट्रिय मूल्य १५ लाख रुपियाँ रहेको एसएसबी ४२ औं बाहिनीका कमाण्डेन्ट गंगा सिंह उदावतले जानकारी दिए। उनलाई बरामद भएको चरेससहित थप कारवाहीको लागि भारतीय अदालत बहराइच पठाइएको प्राप्त समाचारमा जनाइएको छ।
यसैसाता रुपैडिहास्थित एसएसबीको ४२औं बाहिनीका इन्स्पेक्टर सत्येन्द्र सिंहको नेतृत्वमा रहेको गस्ती टोलीले रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ५ का बरीलाल घर्ती र उहाँकी पत्नी नरमाया घर्तीलाई दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित पक्राउ गरेको थियो। अफिमसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चालान गरिएको एसएसबीले जनाएको थियो।