पोखरा,१ असोज २०८१।
पोखरामा सोमबार दिउसो बुलेट मोटरसाइकल र सामान ढुवानी गर्ने कन्टेनर ठोक्किंदा एक युवाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं. १४ चाउथेको विजयपुर उकालोमा सोमबार दिउँसो ग२३प ४४७३ नम्बरको बुलेट मोटरसाइकलले बागमती प्रदेशको ०३-००१ख२१६६ नम्बरको कन्टेनरलाई ओभरटेक गर्नेक्रममा ठोक्किएर दुर्घटना हुँदा बुलेट मोटरसाइकल चालकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर म्याग्दी घर भइ हाल पोखरा-२९ ढुंगेपाटन बस्ने ३७ वर्षका खुमराज तिलिजाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका तिलिजाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।
उक्त दुर्घटनापश्चात कन्टेनर र चालक सल्यान घर भएका ३३ वर्षीय रमेश केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।