पोखरा,२९ भदौ २०८१।
नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर १, पानी ट्याङ्की ओरालोमा दुईवटा बस ठोकिएर साइकललाई पनि ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ ।
आज दिउँसो ४ बजेर २० मिनेट जाँदा मुग्लिनबाट आँपटारी आउँदै गरेको बा.प्र. ०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ग २ ख ८५५ न.को बसलाई ठक्कर दिई अनियन्त्रित हुँदा साइकल यात्रीलाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उक्त बसको ठक्करबाट घाइते भएका भरतपुर १ रामननगर घर भएका साइकलयात्री ६४ वर्षीया राम थापाको उपचारार्थ भरतपुर अस्पताल लैजाँदै गर्दा निधन भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण गम्भीर घाइते थापालाई थप उपचारको लागि भरतपुर अस्पताल ल्याइएको थियो । तर, अस्पतालमा उपचार अघि बढाउन नपाउँदै थापाको ज्यान गएको चिकित्सकलाई उद्धृत गर्दै डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार दुबै गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।