पोखरा,२४ भदौ २०८१ ।
छोरीलाई मारेर फालेपछि ‘हराएको’ भन्दै प्रहरीमा उजुरी दिन पुगेकी एक महिलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
छोरीलाई मारेर फालेपछि ‘हराएको’ भन्दै प्रहरीमा उजुरी दिन पुगेकी काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार, अभियुक्त प्रमिला भन्डारीले आफूले २३ महिनाकी छोरी प्रिन्सिका भन्डारीलाई हिकाउँदा बेहोश भएपछि सिलिङ्गेबेसी आँपबोटमा रहेको ठोस्ने खोलामा फालेको बताइएको छ। त्यसपछि गएको साउन २७ गते दिउँसो ५ बजेतिर आफ्नै घरबाट छोरी प्रिन्सिका हराएको भन्दै प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।
बालिका हराएको सुचना पाए पछि खोजतलास गर्ने क्रममा प्रहरीले साउन २८ गते बिहान साढे ८ बजेतिर घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेको ठोस्ने खोला ती बालिकाको शव भेटिएको थियो । पानीमा डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा शव भेटिएको थियो।
उक्त शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
प्रहरी अनुसन्धानका क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको पाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । पक्राउ परेकी प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा पांच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।