पोखरा,२४ भदौ २०८१ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनारको फल चुस्ने सुँडे पुतली समातेर मार्नेलाई दुई रुपैयाँ दिने घोषणा गरेको छ। जुनार तथा सुन्तलालाई सुँडे पुतलीबाट जोगाइ क्षति न्यूनीकरण गर्ने उदेश्यले पुतली समातेर मार्ने कृषकलाई प्रोत्साहन गर्नको लागि गाउँपालिकाले प्रति पुतली दुई रुपैयाँ दिने निर्णय गरेको हो ।
जुनार सुन्तला फलमा क्षति गर्ने सुँडे पुतली प्रकोपकै रूप देखापरेको र जुनार-सुन्तला फल ब्यापक रुपमा क्षति भएकाले पुतली समात्ने र मार्ने उपाय निकालिएको हो ।
भदौ १५ गते गोलन्जोर गाउँपलिका ५ खनियाखर्कमा सुँडे पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र वैज्ञानिक बिच अन्तरक्रिया कार्यक्रमबाट पुतली समात्ने र मार्ने निष्कर्ष निकालिएको थियो ।
सोहि अनुसार सुँडे पुतली समातेर मारेर सम्बन्धित वडा कार्यालयमा बुझाए प्रोत्साहन स्वरुप प्रति पुतली दुई रुपियाँ दिने गोलन्जोर गाउँपालिकाले भदौ २० गते निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।
“सुँडे पुतली जुनार, सुन्तलाको फलमा बसेर बर्सेनि लाखौँको क्षति पुर्याउने गरेको छ । तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरु उपाय छैन । त्यसैले गाउँपालिकाले पुतली समातेर मार्नेलाई दुई रुपैयाँ नगद प्रोत्साहनस्वरुप प्रदान गर्ने निर्णय गरेको हो,” अध्यक्ष बरालले बताए ।
उक्त पुतली फलमा बसेपछि फलको आकार नबढ्ने, फलको बोक्रामा रस चुसेको ठाउँ खैरो, त्यसको वरिपरि पहेँलो र सुन्तले चक्का देखिने गर्दछ । चुसाहा मोथ-पुतलीले उस्पोरा थरीको ढुसी फलमा सारेर फललाई रोगी बनाउने भएकाले गुदी गल्छन् । यस्ता फलहरु रुखबाट भुइँमा झर्ने गर्दछ ।
वर्षेभरि नै फलको बगैँचामा सक्रिय रहने भए पनि सुँडे पुतलीको संख्या विशेषगरी असार, साउनदेखि कात्तिक, मंसिर यामसम्म ह्वात्तै बढ्ने स्थानीय कृषकहरुको भनाइ छ ।
“चुसाहा पुतलीहरु रातको समयमा सक्रिय हुने स्वभावका कीरा हुन् । रातभरि नै यी पुतलीहरु फलफूल चहार्दै रस चुसी हिँड्छन् । रातको खास प्रहर, साँझको ७ देखि रातको ११ बजे र बिहानीको ४ देखि ६ बजेको अवधिमा बगैँचामा यस पुतलीले फलफूलको रस चुस्ने क्रिया तीव्र हुन्छ,” परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले जनाएको छ ।