पोखरा,२३ भदौ २०८१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुुखहरुसहित आइतबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई संशोधन गर्न विधेयक ल्याउन निर्देशन दिएका हुन्।
छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्ररुपमा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताए भने गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी सङ्गठनमा ऊर्जा थपिनुका साथै मुलुकको आर्थिक दायित्व बचत हुने स्पष्ट गर्नुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।