पोखरा,२२ भदौ २०८१ ।
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियारको हत्यामा सलग्न रहेको अभियोगमा उनकै प्रेमी भनिएका राम खत्री लगायत पांच जनाविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भएको छ ।
गत साउन २७ गते बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा मानव कंकालाका रुपमा मिना परियारको शब भेटिए पछि उनकै प्रेमी भनिएका राम खत्री लगायत पांच जनाविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय म्याग्दी मार्फत म्याग्दी जिल्ला अदालतमा मीनाको प्रेमी भनिने २१ वर्षीय राम खत्री, उनको आमा ४५ वर्षीया रेणु खत्री, दाइ २६ वर्षीय विक्की खत्री, भाइ २२ वर्षीय श्याम खत्री र सालो नाता पर्ने १८ वर्षीय रोजन खत्रीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
गत पुस १६ गते राति वेपत्ता भएकी परियारको शव गत साउन २७ गते बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा फेला परेको थियो । आरोपित रामले सरकारी वकिल कार्यालयमा वयानका क्रममा हत्या गरेको स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए ।
‘प्रतिवादी राम खत्रीलाई अनुसन्धानका क्रममा कारागारबाट झिकाएर सरकारी वकिल कार्यालयमा वयान गराएका थियौं । वयानका क्रममा निजले उक्त घटना घटाएको भनेर स्वीकार गरेको अवस्था छ’, उनले भने । भौतिक सबुत लगायत अन्य प्रमाणमा लाग्ने वस्तु लगायत अन्य परिक्षणको लागी नेपाल प्रहरी केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको श्रेष्ठले बताए ।
गर्भ बसेको थाहा पाएपछि रामले मीनालाई बोलाएर हत्या गरेको देखिएको डिएसपी श्रेष्ठले जानकारी दिए । हत्यामा परिवारका सदस्यले समेत सहयोग गरेको देखिएकाले उनीहरुविरुद्द पनि मुद्दा दर्ता गरेको उनको भनाइ छ ।
गर्भवती रहेकी मीना परियारको हत्यामा संलग्न प्रेमी २५ वर्षीय राम खत्री ज्यान मार्ने उद्योगमा यसअगाडी पनि जेल बसेका प्रहरीले जानकारी दिएको छ।
गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई घरमै पुगेर बोलाएर करिब १ सय मिटर तल रहेको चौतारीमा क्रुरतापूर्वक हत्या गरी झाडीमा लुकाएर डोकोमा बोकेर कालीमूलको जङ्गलमा खाल्टो खनी पुरेको अभियुक्त खत्री बि.स २०७६ साउन २० गते बेनी नगरपालिका–५,पुलाडाँडामा पैसा लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगमा ४२ दिन सजाय भोगेका थिए ।
कोरोनाको समयमा उक्त घटना घटेको थियो । घटनाका पीडितले दर्ता गरेको मुद्दामा खत्रीले सफाइ पाएका थिए । आर्थिक अवस्था कमजोर परिवारमा जन्मिएका खत्रीले मजदुरी गर्ने गरेपनि स्वभाव भने आक्रामक थियो ।
सामान्य विवादमा परिरहने खत्रीले मीनालाई विवाह गर्ने प्रस्ताव सहित प्रेमसम्बन्ध बढाएका थिए । घरमा एक छोरीसँगै श्रीमति गर्भवती रहेको अवस्थामा अभियुक्त खत्रीले मीनासँग प्रेम गरी गर्भवती बनाएपछि गर्भपतनका लागि दिएको दवाव मीनाले अस्वीकार गर्दा हत्या भएको थियो ।
घटनाको दिन मदिरा सेवन गरी मीनाका बुबा घरमा नभएको मौका छोपी सल्लाह गर्ने भन्दै मीनालाई घरबाट करिब १ सय मिटर तल रहेको चौतारीमा बसेको अवस्थामा गर्भपतनको प्रस्ताव अस्वीकार गरेपछि घरेलु हतियारले प्रहार गरी मीनाको हत्या गरेको अभियुक्त खत्रीले प्रहरी समक्ष बयान दिएका छन्।