घोप्टेभीरमा लेदोसहितको पहिरो, काठमाडौं जाने बाटो बन्द : मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो

घोप्टेभीरमा लेदोसहितको पहिरो, काठमाडौं जाने बाटो बन्द : मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ भाद्र २०८१
  • 5.1K
    Shares

पोखरा,२१ भदौ २०८१ ।

नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने अवरुद्ध बन्द भएको छ ।

अहिले बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो खसी बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । पहिरोको कारण काठमाडौं जाने बाटो दुईतर्फ नै अवरुद्ध छ ।

प्रहरी सहायक निरीक्षकको टोली पहिरो खसेको ठाउँमा पुगेर सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन थालिएको चितवन प्रहरीले जनाएको छ ।

चितवनमा रातीदेखि नै पानी परिरहेको छ । निरन्तरताको पानीको कारण नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाइएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार , अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए ।

लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौंलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् ।

पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौंबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएका छन् । अहिले पनि निरन्तर वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउँछन् ।

उनले भने, ‘रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार