पोखरा,१५ भदौ २०८१ ।
काठमाण्डौमा नक्कली प्रहरी इन्स्पेक्टर बनेर सुन लुट्ने र त्यही लुटेको सुन किन्ने दुई जना पक्राउ परेका अच्हन।
पक्राउ पर्नेमा नक्कली प्रहरी इन्स्पेक्टर बनेर सुन ठगी गरेको आरोप लागेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ र उनले ठगी गरेको सुन किनेको आरोप लागेका काठमाण्डौको गोंगबुमा बाग्लुङ भगवती सुनचाँदी पसल संचालन गर्दै आएका बाग्लुङको काठेखोला गाउँपालिका–२ का ६३ वर्षीय बलबहादुर सुनार रहेको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त तामाङले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै गएको साउन २२ गते काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङको एक तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।
आफु लुटिएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि अनुसन्धान गर्दै जाँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुमन तामाङ भनिने मिङमार तामाङलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए ।
लुटपाट गरेको सुनको सिक्री उनले बलबहादुरलाई बेचेको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । मोटरसाइकलमा प्रयोग भएको नम्बर प्लेट समेत उनले नक्कली हालेको खुलेको छ ।
यही शैलीमा सुमनले अन्य व्यक्तिलाई पनि लुटपाट गरेको भन्दै आठ वटा उजुरीसमेत परेको एसपी आचार्यले बताए ।