पोखराबाट बेनी गइरहेको बोलेरो जिप बाढीले बगायो, यात्रु र चालकले भागेर ज्यान जोगाए

पोखराबाट बेनी गइरहेको बोलेरो जिप बाढीले बगायो, यात्रु र चालकले भागेर ज्यान जोगाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ भाद्र २०८१
  • 11.5K
    Shares

पोखरा,९ भदौ २०८१ ।

गएराति न्याग्दीमा परेको मुसलधारे वर्षासंगै खोल्सामा आएको बढीले एक बोलेरो जिप बगेको छ भने त्यस जिपमा सवार चालक र यात्री भागेर बाँच्न सफल भएका छन्।

पोखराबाट बेनीतर्फ गइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको हो । यात्रु र चालकले भने भागेर ज्यान जोगाएका छन् ।

यसैबीच प्राप्त जानकारी अनुसार,गएरातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्र बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।

राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताए ।

बेनी नगरपालिका-८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् ।

बागलुङ-बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी-दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार