पोखरा,६ भदौ २०८१ ।
पोखरामा बस्दै आएका स्वीजरल्याण्डका नागरिकको डेराकोठाबाट मोटरसाइकल लगायतका बहुमूल्य सामाग्री चोरी गरेको आरोपमा प्रहरीले पोखराको अर्मलाका एक युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित स्वीजरल्याण्डका नागरिक Jurg Merzको डेराकोठाबाट चोरी गरेको आरोपमा पोखरा १६ अर्मलाका २३ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त सुनारले स्वीजरल्याण्डको नागरिकको डेराकोठाबाट मंगलबार बिहान ग.२२.प.६९९५ न.को खैरो रंगको एउटा बुलेट मोटरसाइकल, सोनी ब्राण्डको एउटा भिडियो क्यामरा, एउटा टाईमेक्स घडी, माछापुच्छ्रे बैङकको एटिएम, पेन ड्राईभ थान १, ब्लु बुक थान १ र बिभिन्न दरका विदेशी मुद्राहरू चोरी गरेको वडा प्रहरी कार्यालय बैदामाले जानकारी दिएको छ।
स्वीजरल्याण्डको नागरिकको डेराकोठाबाट चोरी भएको सोनी ब्राण्डको भिडियो क्यामरा किनेको आरोपमा प्रहरीले Gadget plus पसलका सञ्चालक गुण बहादुर थापा समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
अभियुक्त सुनारबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका कसुर सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।