पोखरा,५ भदौ २०८१ ।
ठुलो मात्रामा लागू औषधसहित पोखराको भृकुटीटोलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको बनारस घर भएका ४६ वर्षीय शिवकुमार बानियाँलाई पोखरा महानगरपालिका वडा नम्बर १२ भृकुटीटोलस्थित उनकै डेराकोठाबाट ठुलो मात्रामा लागू औषधसहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले गत आइतबार दिउसो करीब सवा दुई बजेको समयमा भृकुटीटोलस्थित बानियाँको डेराकोठामा छापा मार्दा ठुलो मात्रामा बिभिन्न खालका लागू औषधहरुसहित बानियाँलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
अभियुक्त बानियाँको डेराकोठाबाट लागू औषध बुप्रिनर्फिन तीनसय ५३ एम्पुल, डाईजापाम तीनसय ५९ एम्पुल र फेनरागन तीनसय ४५ एम्पुल गरी जम्मा एकहजार ५७ एम्पुल तथा नाईट्रोभ्याट -१० लेखेको ट्याव्लेट एकहजार ७० चक्की र नुर्फिन लेखेको स्टिकर एकसय ७४ र एउटा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिएका छन्।
अभियुक्त बानियान्बिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले गत आइतबार दिउसो साढे १२ बजेको समयमा पोखरा
महानगरपालिका वडा नं. ८ सिमलचौरबाट खोटाङ वाकाचुल गाउँपालिका वडा नं. २ घर भै पोखरा १८ सेदी बस्ने वर्ष ४० को बिर बहादुर तामाङलाई लागू औषध बुप्रिनर्फिन पांच एम्पुल, डाईजापाम पांच एम्पुल र फेनरागन पांच एम्पुल गरी जम्मा १५ एम्पुल र नाईट्रोभ्याट १० लेखेको ट्याव्लेट २० चक्की सहित पक्रुआ गरिएको प्रहरीले जनाएको छ।