पोखरा, ३१ साउन २०८१ ।
पैसा सापटी नदिएको रिसको झोकमा लमजुङमा एक युवाले बृद्ध महिलाको हत्या गरेका छन्। लमजुङको बेंसीसहर नगरपालिका-११, चिती बगैँचाकी ६२ वर्षीया सानु नानी घर्तीको सोही वडाको बजरखुट्टा बस्ने ४७ वर्षीय सुग्गरे सार्कीले हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार, साउन ३० गते बुधबार बिहान करिब साढे ८ बजेतिर आफ्नै घरको आँगनमा घर्तीको शव फेला परेको थियो। उनको शब फेला परे पछि अनुसन्धानका लागि प्रहरी चौकी चिति र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको १९ जनाको प्रहरी टोलीले सुग्गरे सार्कीलाई सुन्दरबजार नगरपालिका वडा नं-६ खत्रीठाँटिबाट पक्राउ गरेको हो।
बृद्धा घर्तीको हत्या आरोपमा पक्राउ परेका सार्कीलाई खोजि गर्न प्रहरीले पोखराबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत मगाएको थियो।
सार्कीले साउन २९ गते बेलुका ८:३० बजे सापट पैसा माग्न घर्तीको घरमा पुगेका थिए। तर, पैसा सापट दिन घर्तीले इन्कार गरेपछि, उनले घर्तीको टाउको र गालामा खुर्पाले आक्रमण गरेको स्वीकार गरेका छन्।
सार्कीलाई जिल्ला अदालत लमजुङबाट ज्यान सम्बन्धी कसुरमा दिन सातको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चपाईले बताए।