ट्राफिक जाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिंदा महिलाको ज्यान गए पछि भक्तपुर तनाबग्रस्त

ट्राफिक जाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिंदा महिलाको ज्यान गए पछि भक्तपुर तनाबग्रस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ साउन २०८१
  • 15.1K
    Shares

पोखरा, ३१ साउन २०८१ ।

भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले सवारी जाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ।

ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दोलखाको मेलुङ-४ घर भई हाल काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपालीको घट्नास्थलमै मृत्यु भएको हो। घटनास्थलमा झोला र किताबकापी भेटिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो। तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको थियो। चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका कारण महिलाले ज्यान गुमाएको भन्दै स्थानीयले ट्राफिकविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका छन् ।

आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाउने प्रयास गर्नुका साथै केही सवारी साधनमा तोडफोड गरे। उक्त दुर्घटनापछि गठ्ठाघरको अवस्था दिनभरजसो तनावपूर्ण बन्यो। आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन् भने प्रहरीमाथि ढुंगामुडा गरेका छन् । ट्रक चालक भने फरार भएका छन्।

स्थानीयको प्रदर्शनका कारण भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात प्रभावित भएको थियो।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालनसमेत गर्नुपरेको थियो। अहिले भने त्यो क्षेत्र शान्त छ। करिब ३ घण्टापछि अरनिको राजमार्गमा सवारी साधन चल्न थालेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार