पोखरा, २४ साउन २०८१।
बाँकेको कोहलपुरमा एउटा स्कुल बसले ठक्कर दिँदा एक जना गोठालाको मृत्यु भएको छ भने १८ वटा पशु चौपाया मरेका छन्।
बाँकेको कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ज्ञान कुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बिहिबार साँझ करीब साढे चार बजेको समयमा गोठाला र पशु चौपायालाई ठक्कर दिएको थियो। उक्त स्कुल बसको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए। बसको ठक्करबाट १८ वटा खसी बाख्रा पनि मरेको एसपी कार्कीले बताए। अन्य केही खसी बाख्रा भने घाइते छन्।
घटनापछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका छन्। पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरूद्ध पारेको हुँदा डाइभर्सन गरी सवारी चलाइएको एसपी कार्कीले बताए।
उनीहरूले बाटोमै शव राखेर सडक खण्ड अवरूद्ध पारेका छन् । बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।