पोखरा, १८ साउन २०८१।
पोखरा २१ मट्टिखान सडकखण्डमा भएको एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूल बस दुर्घटनामा मृत्यु भएका आरती विक र उनको छोरा प्रिन्स विकको परिवारलाई एकमुष्ट २१ लाख रुपियाँ आर्थिक सहयोग गर्न बिद्यालय ब्यबस्थान सहमत भएको छ। उक्त सहमतिसंगै आजै शबको अन्त्येष्टी गरिने भएको छ ।
मुक्ति समाज नेपालको अगुवाईमा जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार नागरिक समाज, मुक्ति समाज, मृतका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याप्सनका प्रतिनिधिसहितहरुबीच भएको छलफलमा बिद्यालय ब्यबस्थापन पिडित परिवारलाई २१ लाख रुपियाँ दिन सहमत भएको मुक्ति समाज नेपालका केन्द्रीय सचिव धन बहादुर नेपालीले जानकारी दिए । उक्त सहमति भएपछि आज शब बुझेर अन्त्येष्टी गर्ने तयारी भैरहेको बताइएको छ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना हुँदा सोही बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत आरती बिक र सोही बिद्यालयमा अध्ययनरत् उनको छ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको थियो भने २८ जना बिद्यार्थी घाइते भएका थिए।
उक्त दुर्घटनामा परि घाइतेहरुको अहिलेपनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ । अन्य १७ जना भने उपचारपछि घर फर्किेसकेका छन् ।