पोखरा, १८ साउन २०८१।
ओखलढुंगामा २९ वर्षीया एक अविवाहित युवती गर्भवती भएपछि प्रहरीले गाउँका तीनजना वृद्धलाई पक्राउ गरेको छ।
मानेभन्ज्याङ गाउँपालिका–९ का ८६ वर्षीय कपिलमणि गौतम, ६३ वर्षीय नन्दलाल गौतम र ५० वर्षीय केशरप्रसाद बास्तोलालाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। उनीहरुले ती युवतीलाई पालैपालो जबरजस्ती करणी गरेको प्रहरीले आरोप लागाएको छ।
पिडित भनिएकी युवतीले आफ्नो पेटमा तीन महिनाको गर्भ रहेको प्रहरीलाई जानकारी दिएकी छिन। उनको पेटमा गर्भ रहे-नरहेको बारेमा एकिन गर्न ती युवतीको स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
युवती गर्भवती भएको हल्ला चलेपछि ५० वर्षीय केशरप्रसाद बास्तोलाले आत्महत्याको प्रयाससमेत गरेको पाइएको प्रहरीले जनाएको छ।
यही साउन ७ गते राति बास्तोलाले आत्महत्याको प्रयास गरेपछि तीनजना मिलेर युवतीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो।
उनीहरुले आफ्नो अपराधलाई ढाकछोप गर्न युवतीलाई गर्भपतन गराउन साउन ६ गते काठमाडौँसमेत पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। इन्सपेक्टर कार्कीले युवतीको सम्पूर्ण स्वास्थ्य अवस्था खुलाउन माग गरेर अस्पताललाई पत्र पठाइएको जानकारी दिए।