पोखरा,१६ साउन २०८१।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका एक थुनुवा युवाको मृत्यु भएको छ। लागू औषध मुद्दामा पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालियाका २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो।
प्रहरीका अनुसार, खड्का गए राति १:४० बजे बिरामी परेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आम्दा अस्पताल धुलाबारी पुर्याइएका खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।
खड्कालाई प्रहरीले साउन १३ बिहान पौने १० बजे मेचीनगर नगरपालिका वडा नम्बर ६ मा ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिन हिरासतमा राख्न म्याद थप भएको थियो। उनलाई काँकडभित्तामा राखिएको थियो।