धनुषामा मिटरब्याज पीडित योगेन्द्र ठाकुरको हत्या : मिटरब्याज पीडितहरूद्वारा आज जनकपुरमा प्रदर्शनको तयारी

धनुषामा मिटरब्याज पीडित योगेन्द्र ठाकुरको हत्या : मिटरब्याज पीडितहरूद्वारा आज जनकपुरमा प्रदर्शनको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ साउन २०८१
  • 4.1K
    Shares

पोखरा,१६ साउन २०८१।

धनुषामा एक मिटरब्याज पीडितको हत्या भएको छ । धनुषाधाम नगरपालिका ३ का अन्दाजी ४५ वर्षीय योगेन्द्र ठाकुरको सोमबार राती करिब ११ बजे हत्या भएको हो ।

आफ्नै घरमा सुतिरहेका मिटरब्याज पीडित ठाकुरलाई साहु (महाजन) शिवजी यादवले आफ्ना मान्छे पठाएर कुटपिट गरी हत्या गरेको योगेन्द्रकी श्रीमती श्याम देवीले जानकारी दिइन्। उनले रातको समयमा आएका शिवजी यादव तथा उनका मान्छेहरु मुकेश मुखिया, सुरजि मुखिया नागेस्वर मुखिया, चान्दि मुखिया र मनिष मुखियाले आफू र आफ्नो श्रीमान योगेन्द्र ठाकुरलाई मरणासन्न हुने गरी कुटेको आरोप लगाइन्। उनीहरुले योगेन्द्रलाई नियन्त्रणमा लिएर रड र धारिलो हतियार प्रहार गरी हत्या गरेका बताइएको छ ।

कुटपिटबाट श्याम देवीको टाउको फुटेको छ । उनले भनिन्, ‘जसोतसो श्रीमानलाई अस्पताल पुर्‍याए । तर श्रीमानलाई बचाउन सकिनँ ।’ महाजनसँग पैसाकै लागि विवाद भएपछि गुन्डा पठाएर श्रीमानको हत्या गर्न लगाएको श्याम देवीले सुनाइन् । महाजनलाई राजनीतिक दल र प्रहरीको संरक्षण रहेको दाबी पिडित पक्षको छ ।

मृतक योगेन्द्रको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर मंगलवार मृतकको शव परिवारलाई बुझाइएको छ । घटनाबारे मिटरब्याज पीडित संघर्ष समितिका व्यक्तिहरूले थाहा पाएपछि दाहसंस्कार रोकिएको छ ।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घटनाको ढाकछोप गर्न हतार हतार मृतक योगेन्द्रलाई दाहसंस्कार गर्न लागेपछि आफूहरूले रोकेर राखेको बताए । उनले भने, ‘एउटा मिटरब्याज पीडितको हत्या भएको छ । तर प्रहरीले अहिलेसम्म न आरोपीलाई पक्रेको छ, न उजुरी लिएको छ । घटना लुकाएर हत्यारालाई उन्मुक्ति दिन खोजिएको छ ।’

योगेन्द्र हत्याको विरोधमा मिटरब्याज पीडित संघर्ष समितिले आन्दोलनको तयारी गरेको छ । हत्या जस्तो घटना दबाउन र अपराधीलाई बचाउने प्रयास भएको भन्दै मिटरब्याज पीडितहरूले आज जनकपुरधाममा प्रदर्शन गर्ने बताएका छन् ।

यता, धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले कुटपिटपछि योगेन्द्र घाइते भएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । उनले घटनाको निष्पक्ष छानबिन हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार