पोखरा,१६ साउन २०८१।
गएरातीदेखी परेको अविरल वर्षासंगै उत्तरी भोजपुरस्थित इर्खुवा खोलामा आएको बाढीले सोही खोलामा निर्माणाधीन हाइड्रोपावरमा कार्यरत दुई जना मजदुरलाई बगाएर बेपत्ता बनाएको छ भने अर्का एक मजदुरको उद्धार गरिएको छ।
भोजपुरको सिल्पा सिलिचो गाउँपालिकास्थित इर्खुवा खोलामा गएको मध्यराती करीब १ बजे बाढी आउँदा सोही खोलामा निर्माणाधीन हाइड्रोपावरमा कार्यरत दुई जना मजदुरलाई बगाएर बेपत्ता बनाएको हो।
उक्त खोलाले बगाएर निर्माणाधीन हाइड्रोपावरमा कार्यरत बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिम्सिनाले जानकारी दिए।
सोहि बाढीले बगाएका अर्का मजदुर २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको प्रहरीले दाबी गरेको छ। हाल सामान्य अवस्थामा रहेका उनको शरीरमा चोटपटक लागेको प्रहरीले बताएको छ।
उनको स्वास्थ्य चौकी कुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।