पोखरा,७ साउन २०८१।
पोखरा महानगरपालिका भित्र रहेका नदी तथा खोला नालामा अबैध तरीकाले नदीजन्य पदार्थहरु ढुंगा, बालुवा र गिट्टी ओसारपसार गर्ने कार्यमा महानगरकै कर्मचारीहरु संलग्न हुने गरेको भेटिएको छ।
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्,संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले गत शुक्रबार गरेको अनुगमनका क्रमामा त्यस्तो तथ्य भेट्टाएको हो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलका अनुसार, उक्त अनुगमन समितिले गत असार १५ गते प्रहरीको सहयोगमा पोखरा महानगरपालिका वडा न १९ दसखेत घाटमा अनुगमन गर्दा उक्त घाटबाट गैरकानुनी रुपले नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गरेको भन्दै ११ वटा टिपर र एक ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो। अनुगमन समितिले नियन्त्रणमा लिएका सबै सवारी साधनहरुले आफूहरुले ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.लि.बाट नदीजन्य पदार्थ खरीद गरेको जिकिर गरेका थिए। सोही अनुरुप उक्त कन्स्ट्रक्सन कम्पनीमा पुगेको अनुगमन टोलीले त्यहाँ नदीजन्य पदार्था ढुङ्गा, बालुवा र गिट्टी स्टक नदेखे पछि अचम्मित भएको थियो।
त्यसपछि थप अनुसन्धान शुरु गरेको अनुगमन समितिले सोधीखोजी गर्ने क्रमामा उक्त ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.लिमा नदीजन्य पदार्थ स्टक नभएको अवस्थामा पोखरा महानगरका अधिकृत दिपेन्द्र भण्डारीले गएको असार ९ गते ‘स्टक नदीजन्य पदार्थ” बिक्री वितरण गर अनुमति दिएको फेला पारे पछि भण्डारीलाई पनि कारबाही गर्न दिफारिश गरेको छ।
जिल्ला अनुगमन समितिको शुक्राबर बसेको बैठकले स्टक नभएको अवस्थामा पनि “ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.लि.”लाई स्टक नदीजन्य पदार्थ बिक्री वितरण गर्न सक्ने महानगरका अधिकृत भण्डारी र ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.लि.को बिल-भरपाई देखाएर दसखेत घाटमा नदीजन्य पदार्थ लोड गरिरहेका एउटा ट्याक्टर र ११ वटा ट्रिपरलाई कारबाहीका लागि पोखरा महानगरपालिका कार्यालयलाई सिफारिश गरेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलले जानकारी दिए।
गएको असार १५ गते अबैध नदिजन्य तथा खानीजन्य पदार्थसहित समातिएका ग १ क १५१५, ग १ क ६२१४ , GAA0076, बा ४ ख ३३२१, ग २ ख १४५, ग १ क २४०२ ,ग २ख ३२८ ,ग २ ख ११५६ ,ग १ क ६३९२, ग १क ५११३, ग १ ख ७९९० नम्बरका ११ वटा टिपर र ग १ त ७०१२ नम्बरको एक ट्याक्टरलाई पनि कारबाहीको सिफारिशसहित महानगरको कार्यालय पठाईएको प्रमुख पौडेलले जानकारी दिए।