जाजरकोटमा भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते

जाजरकोटमा भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ साउन २०८१
  • 4.2K
    Shares

पोखरा, २ साउन २०८१।

भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन् ।

गएराति ८ बजे कुशे गाउँपालिका-८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खस्दा चार जना घाइते भएका हुन्।

उक्त पहिरोमा परेर २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका प्रहरीले जानकारी दिएको छ। हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए । वडाध्यक्ष सिंहका अनुसार घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर छ । उनको होश आउने जाने भइरहेको छ भने निरमाया थापाको दुवै खुट्टामा चोट लागेको छ ।

गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै गर्दा खुट्टामा चोट लागेकी निरमायालाई टहराबाट निकाल्ने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेको सिंहले बताए ।

गतवर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । उक्त भूकम्पले कुशे गाउँपालिका ७, ८, ९ लगायतका वडामा क्षति पु¥याएको थियो । बसेको घर भूकम्पले भत्काएपछि गाउँलेहरु अस्थायी टहरामा बसिरहेका छन् ।

वडाध्यक्ष सिंहले गाउँमा कुनै पनि घर बस्न लायक नरहेको बताए । पुनर्निमार्णका लागि केन्द्रबाटै चासो नहुँदा पीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता पनि उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार