पोखरा, ४ जेठ २०८१/
नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।
एकसय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा एकसय ३० रनमा अल आउट भयो। ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाए । ओपनरले ७.४ ओभरमा कुनै विकेट नगुमाई ७३ रन बनाएको अवस्थाबाट नेपालले सानदार पुनरागमन गरेको थियो ।
नेपालका गुलशन झाले तीन ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । कुशल भुर्तेलले तीन ओभरमा १२ रन खर्चेर तीन विकेट लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १/१ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै एकसय ७९ रन बनाएको थियो । अनिल कुमार साहले २७ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५० रन बनाए । रोहित पौडेलले ३३ बलमा दुई चौका र एक छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र एक छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।
तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ ।
नेपालले २२ र २३ मेमा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी-२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।