विश्वकप खेल्न रोहितको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

विश्वकप खेल्न रोहितको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ बैशाख २०८१
  • 6.6K
    Shares

पोखरा, १९ बैशाख २०८१/
नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र वेस्ट इन्डिजमा अर्को महिना हुने आइसीसी टी २० विश्वकपका लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

आज घोषित नेपाली क्रिकेट टिममा रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी,गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी छन्।

सन् २०१४ मा भएको विश्वकप खेल्ने टोलीमा परेका नेपालका तीव्र गतिका बलर सोमपाल कामी फेरी पनि यस टिममा परेका छन्।

नेपालको ओपनिङ जोडीमा नियमित ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख नै रहनेछन् । वैकल्पिक ओपनिङ ब्याट्सम्यानका रुपमा अनिल साह छन् । उनी विकेटकिपर पनि हुन् ।

नेपालको स्क्वाडमा मध्यक्रम निकै बलियो छ । कप्तान रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्शन झा मध्यक्रममा रहेका छन् । उनीहरुमध्ये रोहित, कुशल, दीपेन्द्र र गुल्शन बलिङसमेत गर्न सक्छन् ।

यसैगरी अनुभवी सोमपाल कामी र करण केसीका साथमा अविनाश बोहोरा प्रमुख फास्ट बलरका रुपमा रहेका छन् । युवा प्रतिस जीसी र कमलसिंह ऐरीले पनि १५ सदस्यीय स्क्वाडमा स्थान बनाएका छन् । सन्दीप लामिछानेको अनुपस्थितिमा युवा स्पिनर सागर ढकाललाई मौका मिलेको छ भने मुख्य स्पिनरका रुपमा ललित राजवंशी छन् । अलराउन्ड विवेक यादव र फास्ट बलर आकाश चन्द स्वाडमा समेटिन सकेनन् ।

विश्वकपमा नेपाल नेदरल्याण्डस्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह डी मा छ। विश्वकपका सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान पक्का गर्नेछन्। सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल जुन २९ मा हुनेछ।

आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ। जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ। नेपाल रहेको समुहका पाँच टोलीमध्य अहिलेसम्म दक्षिण अफ्रिकाले मात्र टोली घोषणा गरेको छ।

प्रतिक्रिया