पोखरा, २१ चैत २०८०/
पर्वत जिल्लाको जलजला गाउँपालिका-२ मल्लाजमा मंगलाबार राती सुर्यबहादुर जिसी दम्पत्तिको हत्या लुटपाट गर्ने क्रममा भएको आंकलन प्रहरीले गरेको छ।
घटनास्थलबाट हत्यामा प्रयोग भएको ठानिएको हँसिया बरामद गरेको प्रहरीले मृतक ६९ वर्षीय सूर्यबहादुर जिसीले लगाएको हातको औंठी र उनकी ६७ वर्षीया श्रीमती कमला जिसीले लगाएको सिक्री समेत चोरी भएको देखिए पछि लुटपाट गर्ने क्रममा उनीहरुको हत्या भएको हुनसक्ने आंकलन प्रहरीले गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले मृतक दम्पत्तिले लगाएका गरगहना चोरी भएको र मृतक बृद्धाको कान तथा घाँटी लगायताक ठाउँमा चोटपटक देखिएकाले उक्त हत्या लुटपाटका उद्देश्यले गरिएको हो कि भन्ने अवस्था आएको बताए। तर अहिले नै उक्त हत्या केका लागि भएको हो भन्ने बारेमा एकिन गरी भन्न सक्ने अवस्था नरहेको उनले स्पस्ट पारे। उक्त हत्याका बारेमा बिस्तृत रुपमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
हत्याको अनुसन्धानका क्रममा सोधपुछका लागि उनका आफन्त परिवारका अन्य सदस्य, छिमेकी लगायतका शंकाश्पद मानिसहरुलाई बोलाएर सोधपुछ गर्ने क्रम चलिरहेको डिएसपी भुषालले जानकारी दिए।
यता गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकासराज खनालले सोधपुछका क्रममा शंकश्पद ठानिएका दुई जनालाई नियन्त्रणमा लिएर बिस्तृत अनुसन्धान शुरु गरिएको दाबी गरे। उनले अहिले नै उनीहरुको भूमिका के हो भन्ने खुलिनसकेको पनि उल्लेख गरे।
डीआईजी खनालका अनुसार, मंगलबार नै अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहितको टोली, डाक्टरको टोली र प्राविधिक टोली परिचालन गरिएको छ । अहिले प्राविधक र म्यानुअल दुवैतर्फबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा डीएसपी खुमलाल भुसालले बताए ।
सोमबार राति ९ बजेसम्म जिसी दम्पतीको अवस्था ठीक रहेको देखिएको थियो । ९ बजेसम्म उनीहरुले आफन्तसँग फोनमा कुराकानी गरेको समेत देखिएको छ । तर, भोलिपल्ट मंगलबार बिहान जिसी दम्पतीका छोराले म्याग्दीबाट फोन गरेका थिए । तर, फोन उठेन । जिसी दम्पतीका एक छोरा म्याग्दीमा फेन्सी पसल सञ्चालन गर्छन् भने दुई छोराहरु कोरियामा छन् । कोरियाबाट समेत फोन गर्दा फोन नउठेपछि छिमेकीलाई खबर गरिएको थियो ।
छिमेकीहरु गएर हेर्दा दुवै जना लडेको अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर आएको डीएसपी भुसालले बताए । ‘शरीररमा चोट र निलडाम पनि छन् । जसकारण लाठ्ठीले हान्नेदेखि धारिलो हतियार प्रहार गरेर हत्या गरेको जस्तो देखिन्छ,’ डीएसपी भुसालले भने ।
दम्पतीले घरमै सानो किराना पसल पनि सञ्चालन गर्दै आएका थिए । किराना पसल चाबी लगाएको अवस्थामा बन्द थियो । तर दम्पती सुतेको कोठामा भने बाहिरबाट चुकुल लगाइएको थियो । स्थानीयले घर ढोका खोलेर हेर्दा दुवै जना रक्ताम्य अवस्थामा मृत भेटिएका थिए । मंगलबार नै शव जाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि म्याग्दी पठाइएको थियो ।