पोखरा, २१ चैत २०८०/
सर्लाहीमा मंगलबार साँझ एक वृद्धाको हत्या भएको छ। बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षीया पार्वतीदेवी महतोको मंगलबार साँझ दाउराको चिर्पटले हानेर भएको हो ।
हत्यामा संलग्न भएको आरोपमा बुधबार बिहान स्थानीय एक युवकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए। नजिकै रहेको ‘सीसीटीभी फूटेज’ को अनुसन्धानबाट घटनामा संलग्न भएको आशङ्कामा २८ वर्षीय ती युवकलाई पक्राउ गरी आवश्यक सोधपुछ एवम् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।
मृतकको अनुहारमा चोट देखिएको छ। शव नजिकै रगत लागेको काठको टुक्रा समेत प्रहरीले बरामद गरेको छ।
मृतक पार्वतीको शव पोष्टमार्टमका लागि मङ्गलबार राति नै सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल पठाइएको छ। वृद्धाको हत्या हुनुको कारण खुल्न बाँकी छ। यसबारे पत्रकार सम्मेलन नै गरेर सावजनिक गर्ने ज्ञवालीको भनाइ छ।