पोखरा, १४ चैत २०८०/
आफ्नै होटलमा काम गर्ने एक जना कामदार युवती वलात्कार गरेको आरोप लागेका एक जना होटल संचालक गोरखामा जेल चलान भएका छन्। गोरखा नगरपालिका वडा नं.११ बाह्रकिलोमा होटल ब्यबसाय संचालन गर्दै आएका बर्ष ४१ को ईश्वर बस्नेत आफ्नै होटलमा काम गर्ने युवती वलात्कार गरेको आरोपमा जेल चलान भएका हुन्।
प्रहरीका अनुसार, गोर्खा जिल्ला अदालतले उक्त अभियोगमा अभियुक्त बस्नेतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पछि गोरखा जिल्ला कारागार चलान भएको प्रहरीले जानकारी दिएको छ। उनकै होटलमा काम गर्ने २२ वर्षीय युवतीले आफूमाथि गएको फागुन १५ गते बिहान करीब साढे ११ बजे होटल संचालक बस्नेतले वलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी परेपछि अभियुक्त बस्नेतलाई फागुन १८ गते पक्राउ गरेर जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान पश्चात गोरखा जिल्ला अदालत गोरखामा पेश हुँदा अदालतले अभियुक्त बस्नेतलाई पुर्पक्षको लागि थुनामा राख्न दिएको प्रहरीले जनाएको छ ।