पोखरा, १४ चैत २०८०/
नेपाल टेलिकमको रानीपौवास्थित कार्यालयबात तार चोरी गरेको आरोपमा पोखराबाट एकजना युवा पक्राउ परेका छन्। कास्की जिल्लाको मादी गाउँपालिका–१, सिक्लेसका ३२ वर्षीय नविन सुनार टेलिकमको रानीपौवास्थित कार्यालयबाट तार चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।
उनले कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा रहेको नेपाल टेलिकम कार्यालयको परिसरभित्र राखिएको तामा मिश्रित तार चोरी गरेर लादै गरेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनको साथबाट एकसय १० फिट फाइबर तार बरामद गरिएको छ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।