पोखरा, १४ चैत २०८०/
पाल्पामा नुहाउन गएकी एक किशोरीको मंगलबार बिभत्स तरीकाले हत्या गरिएको छ। घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको बिभत्स तरीकाले हत्या गरिएको हो। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
बिहान धारामा नुहाउन भनेर हिडेकी पद्मा सुनार घरदखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको रिब्दिकोट गाउँपालिका १ का वडाध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । युवतीको हातको औला, पाखुरा काटिएको अवस्थामा खरबारीमा भेटिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए।
दिउँसो तीन बजेसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार साँझ केही पर उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव फेला परेको पोखरेलले बताए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।