भारतीय सीमा सुरक्षा बल -एसएसबी)द्वारा नेपाली भूमिमा हत्या गरिएका गोबिन्द गौतमलाई राष्ट्रिय शहीद घोषणाको माग राख्दै तथा नेपालीभूमिमा भारतीय सीमा सुरक्षाबलद्वारा भएको हस्तक्षेपको विरोधमा पोखरास्थित चार वामपन्थी पार्टीहरुले शुक्रबार पोखरामा विरोध जुलुशको आयोजना गरे । उक्त जुलुश नेकपा एमाले, नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा आयोजना गरेका थिए ।
विरोधसभापूर्व आयोजित विरोध जुलुश पोखरा सभागृहबाट शुरु भई पृथ्वीचोक -लखनचोक) परिक्रमा गरेर सभागृहचोकमा आई कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभमा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरी संयोजक शंकर बराल, नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी पुर्णजीत पुन र नेकपा -क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य नारायण अधिकारी “निश्चल” लगायतले बोलेका थिए । उनीहरुले भारतले विभिन्न वहानामा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको बताउँदै भारतको नेपालप्रतिको हेपाहा नीति र हस्तक्षेपकारी भूमिकाको डटेर मुकाविला गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनीहरुले राष्ट्र, राष्ट्रियता र जनतन्त्रको पक्षमा आम नेपाली जनता एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।