पोखरा, ७ चैत २०८०/
मोरङमा गएराती एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् ।
प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।