पोखरा, २९ फागुन २०८०/
दाङको घोराहीमा पुलबाट खोलामा कार खस्दा चालक घाइते भएका छन् । बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्वरको कार घोराही–लमही सडकखण्डअन्तर्गत घोराहीको कटुवाखोला पुलबाट सोमवार राती करिव साढे नौ बजे खोलामा खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
उक्त दुर्घटनामा परेर ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका प्रहरीले जानकारी दिएको छ। उनको निधार र छातीमा चोट लागेको र हाल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
मादक पदार्थ सेवन गरेका गाडी चालक केसीले पुलमा गाडी नियन्त्रण गर्न नसक्दा खोलामा खसेको हुनसक्ने प्रहरीको दाबी छ। गाडीमा चालक मात्र एक्लै भएका कारण गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।