पोखरा, २४ फागुन २०८०/
दुई वर्ष अघि नेपाली मात्रको महान चाड मध्येको एक महाशिवरात्रीका अवसरमा गाउँमा आयोजित सांस्कृतिक कार्यक्रममा झडप हुँदा आफ्नै साथीको छुरा हानेर हत्या गरी भागेका एक युवा पोखराबाट पक्राउ परेका छन्।
२०७८ फागुन १९ गते राति पोखरा-२० मौजामा स्थानीय क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा पोखरा २० लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरुङलाई छुरा प्रहार गरी हत्या गरेर भागेका सोही ठाउँका ३० बर्षीय डीलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले पोखरा-११ काँहुखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
पक्राउ परेका गुरुङलाई जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ । उनी गत मंसिर ७ गते जिल्ला अदालत कास्कीबाट ज्यानसम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए । उनलाई जिल्ला अदालत कास्कीले १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको प्राप्त समाचारमा जनाइएको छ ।
सांस्कृतिक कार्यक्रममा भएको सामान्य बिबादका क्रममा चोकेंद्र गुरुङलाई छुरा हानेर गम्भीर घाइते बनाइएकोमा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।