पोखरा, २० फागुन २०८०/
भक्तपुरमा गएको फागुन ११ गते भएको एउटा हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई सूर्यबिनायकमा तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएका सुवाललाई थप अनुसान्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ जिल्ला प्रहरी परिसर भक्तपुरको जिम्मा लगाएको समाचारस्रोतहरुले जानकारी दिएका छन्।
ढकालकी श्रीमती रेनुले आफनो श्रीमान हराएको भन्दै जगाती प्रहरी वृत्तमा गत १० गते उजुरी दिएकी थिइन् । “श्रीमान चाहिए दुई लाख लिएर सूर्यविनायक जंगलमा आउनु’ भनेर फोन आएको उनले प्रहरीलाई बताएकी थिइन् ।
ढकालको खोजतलास गर्ने क्रममा गत फागुन ११ मा सिपाडोलस्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा ३३ वर्षीय ढकाल मृत अवस्थामा फेला परेका थिए ।
ढकाल र सुवालको घटना हुनुभन्दा केही दिनअघि मात्र भट्टीमा भेट भएको थियो । त्यस दिन पनि सँगै रक्सी खाएर उनीहरु बस्नेतको गोठमा गएका थिए । रक्सीको तालमा सुवालले ढकालकी पत्नीलाई ढकालकै मोबाइलबाट ‘प्राङ्क कल’ गरेर पैसा मागेको प्रहरीले जनाएको छ ।
त्यसपछि ढकालले सुवालको श्रीमतीलाई दुर्व्यवहार गर्न खोजेपछि सुवालले ढुंगाले हानेर हत्या गरेको अनुसन्धानमा खटिएको अधिकृतले बताएका छन् ।
‘सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ । ढकालको शव गत फागुन ११ गते सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।
उनको साथबाट ढकालको मोवाइल र ज्याकेट बरामद भएको छ । सुवाल यसअघि पनि चोरी घटनामा पक्राउ ४ महिना कारागार बसेका थिए । साथै अभद्र मुद्दामा पनि पक्राउ परेका थिए ।