पोखरा, १८ फागुन २०८०/
पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनसंग नेपाल पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरमा पराजित भए पछि नेपाल उपविजेता बनेको हो।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको २८औँ मिनेटमा गोल गरेकी थिइन् । निर्धारित समयको ७३औँ मिनेटमा जोर्डनकी फेरासले जवाफी गोल गरिन् ।
यसैगरी ८९औँ मिनेटमा जोर्डनकी अबु साबाले गोल गर्दै आफ्नो टोलीलाई २-१ को अग्रता दिलाइन् । इन्जुरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी प्रहारको अवसर पायो । त्यो अवसरलाई सदुपयोग गर्दै नेपालका लागि गिता रानाले नेपालका लागि दोस्रो गोल गरिन् । गिताको गोलपछि निर्धारित समयको खेल २-२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । तर, पेनाल्टी सुटआउटमा जोर्डनले नेपाललाई ५-३ गोलले हरायो ।
पेनाल्टी सुटआउटमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे भने अमृता जैशीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।
नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि चुम्नबाट चुक्यो । यसअघि पनि नेपालले १० पटक विभिन्न प्रतियोगिताको फाइनल खेल खेलेको थियो । तर, उपाधि भने चुम्न सकेको थिएन । प्रतियोगितामा नेपाल आमन्त्रित टोलीको रुपमा सहभागी भएको हो ।