पोखरा, १६ फागुन २०८०/
पोखरा घुम्न आउने पर्यटकलाई दु:ख-हैरानी दिने समूहबिरुद्धको कारबाहीलाई कास्की प्रहरीले निरन्तरता दिएको छ। यसैक्रममा पोखरा बसपार्क र पर्यटक बसपार्क क्षेत्रमा पोखरा घुम्न आउने पर्यटकलाई दु:ख-हैरानी दिएको आरोपमा प्रहरीले पोखराबाट नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ पर्नेहरुमा पोखरा ९ बसपार्क बस्ने वर्ष ४० को रुपेन्द्र श्रेष्ठ, वर्ष ३२ को मोहन आचार्य, वर्ष २५ को विकास कुंवर, पोखरा ९ नागढुङ्गा बस्ने वर्ष ४० को नारायण अधिकारी, वर्ष ४४ को श्याम प्रसाद शर्मा, पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष २१ को बिमल ठकुरी, वर्ष २१ को विकास श्रेष्ठ, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ को रन्जन खड्का र पोखरा १७ ड्यामसाईड बस्ने वर्ष १९ को सविन नेपाली रहेको प्रहरीले बताएको छ।
उनीहरुले पोखरा आएका पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिने गरेको प्रहरीको आरोप छ। उनीहरुबिरुद्ध सार्वजनिक हित,स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।