पोखरा, ९ फागुन २०८०/
क्रिकेटर सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमाको शल्यक्रिया गराएका छन्। काठमाडौंको सिल्भरलाइन हस्पिटलमा सोमबार साँझ उनको शल्यक्रिया भएको बताइएको छ।
शरीरका विभिन्न अंगमा रहेका सात वटा गाँठाहरू हटाइएको स्रोतले जानकारी दिएको छ। यो शल्यक्रिया उनको दोस्रोपटक हो। गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए।
पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन्। अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन्। जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ।
सन्दीप मानसिकरूपमा पनि समस्यामै छन् । अदालतकाे फैसलाबाट स्तब्ध बनेका उनी आफूलाई सेल्फ आइसाेलेसनमा राखिरहेका छन् । अस्पताल आउनुअघि घरबाट हम्मेसी बाहिर निस्किएका थिएनन् । क्रिकेट टीमका सदस्यहरूसँग उनकाे सम्पर्क छैन । स्राेतका अनुसार एकाधबाहेक खेलाडीले उनलाई फाेन म्यासेज गरेका छैनन् ।