पोखरा, २२ माघ २०८० /
मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा दाजुु-बहिनीको मृत्यु भएको हो।
उक्त आगलागीमा परेर सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
आगलागीस्थलमा पुगेको प्रहरीले दाजुबहिनीको शब जलेको अवस्थामा भेटिएको पनि डिएसपी थापाले बताए।
प्रहरीका अनुुसार लालु सञ्ज्यालको घरमा उनकी श्रीमती र दुुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारतमा छन् ।
लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको थापाले बताए ।
उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको र आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।