पोखरा, २० माघ २०८० /
पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्ड कपको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले उचालेको छ । शनिवार पोखरा रङ्गशालामा भएको फाइनलमा पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई ३-० गोलअन्तरले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।
आर्मीका लागि पहिलो गोल क्याप्टेन गिलेस्पी जंग कार्कीले ३८ मिनेटमा गरेका थिए । दोस्रो गोल आर्मीका फत्तेमान घलेले ८३ मिनेट र वसन्त जिम्बाले इन्जुरी समयमा गोल थपे ।
आर्मी यसअघि ४ पटक फाइनल पुगे पनि उपाधि विहीन थियो । आर्मी यसअघि २०६५, ०६६, ०७२ र ०७५ मा फाइनल पुगेको थियो । थ्रिस्टारले २०६३, ०६७, ०६९, ०७१ र ०७५ मा उपाधि जितेको थियो ।
प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा क्लब र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल यात्रा तय गरेको हो । थ्री स्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।