पोखरा, १८ माघ २०८० /
लमजुङको बेशीशहर हिडेकी एक महिला पोखरा बसपार्कमा दिउँसै लुटिएकी छिन्। पोखरा २५ हेम्जाबाट लमजुङको सदरमुकाम बेशीशहर हिडेकी गोमा बिक पोखराको पृथ्वीचोकस्थित पोखरा बसपार्कमा दिउँसै लुटिएकी हुन्।
पोखरा बसपार्कमा पुगेपछि टिकट काउन्टर खोज्दै हिडेकी गोमालाई पिछा लागेका दुई युवाले झुक्याएर लुटेको बताइएको छ। ती लुटेराहरुले उनको साथमा रहेको सात हजार रुपैयाँ र घाटीमा लगाएको साढे एक तोलाको सुनको सिक्री लुटेको पिडित गोमा बिकले जानाकारी दिइन्। उनले अघि भनिन्, ‘पुलिसले यहाँको काउन्टर हटाएको छ, काउन्टर भित्र छ भनेर पोखरा मलमा ल्याए अनि झोलामा राखेको ७/८ हजार नगदसहित सिक्रीसमेत लगे ।’
उनले घाटीमा लगाएको सिक्री केटाहरुले झिकेपछि प्रतिकार गरेको बताउदै रुमालमा ढुङ्गा पोको पारेर दिएको सुनाइन् । ‘काउन्टर भित्र छ भनेपछि बाटोमै जेब्रा राखेर आए, उनीहरु पनि मसँगै आए, घाटीमा लगाएको सिक्री ताने । किन मेरो सिक्री तानेको भनेर कराए रुमालमा पोको पारेर उनीहरुले सुनको सिक्री दिए होला भनेको त त्यहाँ ढुङ्गा रहेछ । पछि मात्र थाहा पाए’, उनले भनिन् ।
पोखरा मलस्थित नेपाल बैंकको पार्किङ स्थलबाट एक महिलाको सुन र नगद चोरी भएको सूचनापछि सिसीटिभीको सहयोगमा चोरी गर्ने युवाहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।