पोखरा, १२ माघ २०८० /
पोखराका मुख्यबजारहरु पृथ्वीचोक, सिर्जनाचोक, पोखरा बसपार्क लगायतका क्षेत्रहरुमा ब्यापक मात्रामा साइकल चोरीका घटनाहरु भएर्का छन्। त्यसमा पनि ती साइकल चोरीका घटनामा बालबालिकाहरु संलग्न रहेको पाइएको छ।
साइकल चोरीमा संलग्न रहेको आरोपमा वडा प्रहरी कार्यालय बैदामले बिहीबार पक्राउ गरेका सबै नौ जना बालकहरु रहेका छन्। पक्राउ परेका मध्ये १५ वर्ष उमेरका ५ जना, १३ वर्ष उमेरका २ जना, १२ वर्षका १ जना र ११ वर्षका १ जना रहेको वडा प्रहरी कार्यालय बैदामाले जनाएको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७, ८ र ९ का बालकहरु छन् ।
विभिन्न स्थानबाट साइकल चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको सादा पोशाकसहितको प्रहरी टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु सबै साइकलसहित नै पक्राउ परेका हुन् ।
उनीहरुलाई आवश्यक सोधपुछ पश्चात सम्झाई बुझाई अभिभावकहरुको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।