पोखरा, ९ माघ २०८० /
चितवनको दासढुङ्गामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
नारायणगढबाट दासढुङ्गातर्फ जाँदै गरेको ना ५९ प २६२१ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको ना ६५ प ७२२५ नम्वरको मोटरसाइकल सोमबार बिहान ११ः४० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा घाइते भएका ना ६५ प ७२२५ नम्वरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका ७ का ४० बर्षिय प्रकाशबाबु थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का मोटरसाइक चालक रत्ननगर नगरपालिका १३ का २२ बर्षिय सुदर्शन आचार्य गम्भिर घाइते भएका छन । उनको भरतपुरमा उपचारपछि थप उपचारका लागि सोमबार साँझ काठमाडौं लगिएको छ ।
अन्य दुई घाइते ४४ बर्षिय सावित्रा आचार्य र ५८ बर्षिय तिलकबहादुर थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।