पोखरा, २८ पुष २०८०/
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। अत्तरिया बजारमा रहेको न्यु सत्कार दोहरी साँझमा कुटपिटमा परि घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको धनगढी स्थित नि:सर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
२५ गते बुधवार राति दोहोरी साँझमा कुटाई खाएर गम्भीर घाइते भएका देउबालाई तत्काल उपचारका लागि नि:सर्ग अस्पतालमा लगिएकोमा सोही अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले जानकारी दिए ।
देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए ।
देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो । कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । उनले अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताएका छन् । पक्राउ पर्नेमा २७ बर्षिय विनोद शाह, २४ बर्षिय प्रकाश ओली, २५ बर्षिय उमेश बडैला, २८ बर्षिय यज्ञ बिक, ३८ बर्षिय राम बहादुर ऐर, २८ बर्षिय टेक बहादुर नायक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।