पोखरा, २६ पुष २०८०/
गोरखा नगरपालिकाको वडा नं. १४ स्थित अकला मन्दिर नजिक रहेको होटल हिल कटेजका संचालक बर्ष २८ को महेश भन्ने शमशेर बाबु पन्तको हत्या गरेको आरोपमा एक युवा काठमाण्डौबाट पक्राउ परेका छन्।
पालुङटार नगरपालिका वडा नं. ८ लामाचौर घर भएका होटल संचालक पन्त गएको पुष १६ गते बिहान करीब सवा ११ बजे आफ्नै होटलमा मृत भेटिएका थिए। पुष ९ गतेदेखि बेपत्ता रहेका पन्त उक्त दिन होटलमै मृत भेटिएको बताइएको छ।
टाउकोको पछाडि भाग, अनुहार र खुट्टामा धारिलो हतियार प्रहारको चोट देखिए पछि अनुसन्धान गर्दै जाँदा पन्तको हत्या उनकै साथि गोरखा १४ सलाङगिरी बस्ने बर्ष २३ को किसान परियारले गरेको खुले पछि काठमाण्डौको कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा कलंकीबाट पक्राउ गरिएका परियारलाई गोरखामा ल्याई कर्तब्य ज्यान सम्बन्धि कसुरमा अनुसन्धान शुरु भएको प्रहरीको भनाई छ।
एसपी श्रेष्ठका अनुसार, प्राय सन्धी जसो सँगै बसेर मादक पदार्थ सेवन गर्ने तथा लागू औषध खाने गर्दै आएका पन्त र परियार बीच पुष ९ गते विवाद भएको थियो । तर त्यस दिन व्यक्तिगत रिसइभीका कारण विवाद चर्केपछि परियारले होटलको भान्सामा रहेको खुर्पा र चक्कुले पन्तको शरीरको बिभिन्न भागमा पटक पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको एसपी श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु, खुर्पा र मृतकको मोवाइल समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।